|
‘इन्धन अभावका कारण यसपटक अग्रिम बुकिङ गर्न नसक्ने’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ। काठमाडौं उपत्यकाबाट मात्रै करिब १५ लाख जनता दसैं मनाउन जान्छन्। राजधानीबाहिर जाने यो ठूलो जमातलाई व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा यातायात व्यवस्था विभाग चिन्तित छ। ‘मुलुकको हालको स्थितिले गर्दा हामीलाई थप चुनौती थपिएको छ,’ विभागका निर्देशक वसन्त अधिकारी भन्छन्।
उता, महासंघका महासचिव सरोज सिटौला भने, ‘सरकारले व्यवसायीलाई सुरक्षा र इन्धन उपलब्ध गराइदिने लिखित प्रतिबद्धता गरे अग्रिम टिकट बुकिङ खुला गर्नेछौं।’ उनले मुलुकमा इन्धन सहज उपलब्ध भएको दिनबाटै अग्रिम बुकिङ बोल्न महासंघ तयार रहेको बताए।
‘इन्धन अभावका कारण हाम्रा नियमित गाडीहरू गुड्न सकेका छैनन्। जसले गर्दा जनतालाई गाह्रो भइरहेको छ,’ सिटौलाले भने, ‘मंगलबारसम्ममा नियमित रूपमा चल्नेभन्दा २५ प्रतिशतमात्र गाडी गुडिरहेका छन्।’
मुलुकमा ५० दिनयता भएका विभिन्न आन्दोलन, बन्द र हडतालसँगै भारतीय नाकाबन्दीका कारण यातायात क्षेत्रमा १२ अर्बभन्दा बढी क्षति भइसकेको छ। अर्कोतर्फ सधैं घाटामा जाने नेपाल आयल निगम गत वर्षबाट अन्तर्राष्ट्रिय रूपमा स्वचालित मूल्य प्रणाली लागू भएपछि नाफामा गएको थियो। तर भारतीय पक्षबाट इन्धनको अघोषित नाकाबन्दीपछि डेढ महिनायता २ अर्ब गुमाउन पुगेको छ।
इन्धन अभावका कारण मालवाहक र यात्रुवाहक गाडी चलाउन गाह्रो परेपछि यातायात व्यवसायीहरूले मंगलबार बेलुकी नेपाल आयल निगममा गएर गुनासो गरेका छन्। निगमसँगको वार्तामा व्यवसायीहरूले रुट अनुसारको गाडीलाई इन्धन उपलब्ध गराउन माग गरेका हुन्।
सरकारले सवारी साधनमा जोर/बिजोर प्रणाली लागू गरेर निजीभन्दा यात्रुवाहक सवारी साधनलाई इन्धन दिने भने पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। व्यवसायीहरूले मंगलबार गृह मन्त्रालयमा सम्पर्क गरी थप सुरक्षाको माग पनि गरेका छन्।
|
Blogger Comment